काठमाडौं – नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण सुरु भएको छ । एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार यो सुरुङमार्गको शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो ।
जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा चार वर्षमा सक्ने गरि सुरुङमार्ग निर्माण सुरु भएको हो । यो सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ। जाइकाले यसमा १६ अर्ब सहयोग गरेको छ ।
थप ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ । चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा प्रधानमन्त्रीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
सरकारले लगानी गर्ने करिब ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमा खर्च हुने आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सकिएको उनले बताए ।
धादिङको धुनिवेशी नगरपालिका-९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेकाले छिटो वितरण गरिने बताइएको छ । चार वर्षमा सुरुङ मार्ग निर्माण सक्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ ।
सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । सुरुङमार्ग लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ ।




प्रतिक्रिया