काठमाडौं – नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास आज हुँदैछ । जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा बनाउन लागिएको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे गर्ने कार्यक्रम रहेको छ ।
सुरुङ मार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ । २.७ किलोमिटर लामो हुने यो सुरुङमार्ग काठमाडौंतर्फ थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुने छ ।
हाल नौबीसेबाट काठमाडौं आइपुग्न झण्डै दुई घण्टा लाग्छ । सुरुङमार्ग बनेपछि नौबीसेबाट २० मिनेटमै काठमाडौं आइपुगिने छ । नागढुंगा– सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ६ असोजमा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो ।
सिडक वभागका विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरणसहित काम गर्न जापानीज टोली तयारी अबस्थामा रहेको बताए । उक्त सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड (एनएटिएम) प्रविधिबाट निर्माण हुने विभागले जनाएको छ ।
सम्झौता अनुसार टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुनेछन्। नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण हुने थापाले जानकारी दिए ।




प्रतिक्रिया