काठमाण्डु – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नाइमाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विपद्को सुरुवातदेखि नै नाइमाका सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्याउँदै आएको नाइमाले जनाएको छ । सदस्य संस्थाहरूले गरेको सहयोगको समेत नाइमाले प्रशंसा गरेको छ ।
नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले विज्ञप्तिमार्फत संस्थाले स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएका छन् ।
उनले कठिन परिस्थितिमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको बताउँदै विपद्का बेला सहयोग र सहकार्यका लागि तत्परता देखाउने सदस्य कम्पनीहरूप्रति धन्यवाद व्यक्त गरे । सरकार, निजी क्षेत्र र समुदायबिचको सहकार्यले राहत तथा पुन:स्थापना कार्यलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।
नाइमाले खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाप्रति सम्मान व्यक्त गरेको छ ।
अटोमोबाइल तथा गतिशीलता क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न नाइमाले आग्रह गरेको छ ।




प्रतिक्रिया