विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ : नैनसिंह महर

विदेशमा रहेका नेपालीको नोट मात्र होइन, भोट पनि चल्नुपर्छ : नैनसिंह महर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशमा रहेका नेपालीले पठाएको नोट मात्र नभएर उनीहरूलाई मतदानको अधिकार पनि दिइनुपर्ने बताएका छन् ।

कतारको राजधानी दोहामा नेपाली जनसम्पर्क समितिको १७औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले विदेशमा रहेका नेपालीले पनि मताधिकारको सदुपयोग गर्न पाउनुपर्ने बताए ।

‘विदेशमा रहेका नेपालीहरूले पठाइरहेको रेमिट्यान्सले देश चलिरहेको छ । अतः तपाईंहरूलाई राज्यले सम्मान गर्न सक्नुपर्छ । मुलुकको आर्थिक समृद्धि र थुप्रै परिवर्तनमा तपाईंहरूको पनि ठूलो भूमिका छ । तपाईंहरूलाई मताधिकार गर्न राज्यलाई दबाब दिन तयार छु । म तपाईंहरूकै साथमा छु,’ उनले भने ।

सरकारले विभिन्न मुलुकसँगको श्रम सम्झौतालाई पनि प्रभावकारी बनाउनुपर्ने उनले बताए । ‘विदेशमा रहेका नेपाली श्रमिकको सुख–सुविधा, सामाजिक सुरक्षा लगायत विषयमा सरकारले श्रम सम्झौताको नीति अवलम्बन गर्नुपर्छ,’ उनले भने ।

नेपालमा रेमिट्यान्सको सही सदुपयोग हुन नसकेको र विदेशमा रहेर पैसा पठाउने नेपालीको सरकारले उचित सम्मान गर्न नसकेको उनले औंल्याए । वैदेशिक रोजगारीमा गएका आफन्तको शिक्षा र स्वास्थ्यमा पनि सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

‘अहिले विश्व साँघुरो घर जस्तो भइसक्यो । नवउदारवादको अवस्थामा हामी आप्रवासनलाई रोक्न सक्दैनौं । मान्छेमा राम्रो सुविधा र सहुलियत प्राप्तिको आकांक्षा हुन्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्तिको अभिलासा हुन्छ । असीमित आकांक्षा पूर्तिका लागि मानिस एक देशबाट अर्को देशसम्म पुग्नुलाई नराम्रो मान्न सकिन्न । तर नेपालका नागरिक एसिया लगायत मुलुकमा जीविकोपार्जनकै लागि पुग्ने गरेका छन् । यो दुःखद कुरा हो । यस विषयमा राज्य गम्भीर हुनुपर्छ,’ नेता महरले भने ।

नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने सके ठूलो जनशक्ति स्वदेशमै रोक्न सकिने उनले बताए । युवा पौरख स्वदेशमै खर्चिए मात्र मुलुक निर्माण हुने महरको धारणा छ ।

‘उमेर हुँदा विदेशमा पसिना बगाउने र असक्त हुँदा स्वदेश फर्किएर देश निर्माण गर्न सकिँदैन । त्यसैले राज्यले युवालाई विदेश पठाएर रेमिट्यान्समा रमाउने होइन, स्वदेशमै श्रम र सीपको सदुपयोग गरेर युवाबाट उत्पादित वस्तु विदेश निर्यात गरेर डलर कमाउनुपर्छ,’ महरले भने ।

कतारसँग २००५ मा श्रम सम्झौता भएको स्मरण गर्दै महरले अहिले यहाँ पनि ठूलो जनशक्ति कार्यरत रहेको बताए । सरकारले विदेशी लगानी नेपालमा अपेक्षित रूपमा भित्र्याउन नसकिरहेको बताउँदै महरले विदेशमा रहेका नेपाली नागरिक पनि अवैतनिक राजदूत हुने हुँदा नेपालमा लगानी भित्र्याउन सबैले सक्रिय भूमिका बहन गर्नुपर्नेमा जोड दिए ।

विदेशमा रहेका नेपाली र असल भाव भएका नेता एकजुट भएर काम गरेमा समृद्ध नेपाल निर्माण गर्न धेरै समय नलाग्ने महरको भनाइ छ । ‘राणा र राजाले धिलथिलो पारेको मुलुक अहिले समृद्धिमा निकै अगाडि बढेको छ । तर अपेक्षित रूपमा काम हुन सकेको छैन । सबै नेता, पत्रकार, सामाजिक अभियन्ता, कर्मचारी भ्रष्ट छैनन् । हामीले असल मान्छेलाई चिन्न सक्नुपर्छ । त्यसैले स्वदेश र विदेशमा भएका नेपाली एकजुट भएर समृद्धिको यात्रामा अगाडि बढ्यौं भने धेरै गाह्रो छैन,’ उनले भने ।

बीपीले ‘मेरो जस्तै आर्थिक अवस्था भएको परिवार १५ वर्षभित्र बनाउन चाहन्छु’ भनेको स्मरण गर्दै महरले इमान्दार भएर नेताहरूले काम गरे बीपीको सपना पूरा हुन ५ वर्ष मात्रै लाग्ने बताए । यसका लागि सबै राजनीतिक दल र नेताहरू सच्चिन आवश्यक रहेको उनको धारणा छ ।

फरक प्रसङ्गमा नेता महरले हामी नष्ट हुन्छौं तर भ्रष्ट हुँदैनौं भन्दै राजनीतिमा आएका नयाँ राजनीतिक दलको अवस्था कन्तिविजोगपूर्ण रहेको बताए । उनीहरू आउँदा नै भ्रष्ट बनेर आएको र छोटो समयमै नष्ट हुने बाटोमा रहेको महरको टिप्पणी छ ।