शेरबहादुर देउवाको विरासत उचो हुने गरी काम गर्छु : नैनसिंह महर

शेरबहादुर देउवाको विरासत उचो हुने गरी काम गर्छु : नैनसिंह महर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डडेल्धुरामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नैनसिंह महरले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

उनी आफ्ना चुनावी एजेण्डा बोकेर जनताको घरदैलोमा पुग्ने गरेका छन् ।

महरले घरदैलोका क्रममा आफूले पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको विरासतलाई उचो हुने गरी काम गर्ने प्रतिबद्धता समेत जनाउने गरेका छन् ।

‘डडेल्धुरा देवभूमि हो । यस पावन भूमिले भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौत, शेरबहादुर देउवा जस्ता सपुत जन्माएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रद्धेय नेता शेरबहादुर देउवाको अतुलनीय भूमिका छ । म उहाँको उत्ताराधिकारी बनेर आएको छु । उहाँका बाँकी सपना र योजना पूरा गर्न तपाईंहरूको अमूल्य मत पाउनेमा म विश्वस्त छु,’ उनले भने ।

महरले डडेल्धुरा मात्र नभई आफू सुदूरको समृ्द्धिका लागि कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले डडेल्धुरा प्रचुर सम्भावना बोकेको जिल्ला भएको स्मरणसमेत गरेका छन् ।

परशुराम र आलिताल जस्ता धार्मिक र एतिहासिक स्थलको प्रवर्द्धन गर्नसके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने उनले विश्वास व्यक्त गरेका छन् ।

नवदुर्गादेखि गन्यापधुरासम्मको धार्मिक पर्यटकको विकासमा आफूले विशेष जोड दिने उनले प्रतिबद्धता जनाएका छन् । ‘यस जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको वृत्ति विकास गरेर युवाहरूलाई रोजगारीको मूल प्रवाहमा ल्याउने मेरो अभिष्ट छ,’ उनले भने ।

उनले जनताले आफूलाई दिइरहेको आशीर्वाद र सुझाव सहितका प्रतिक्रियाले थप जिम्मेवार बन्न प्रेरित गरिरहेको बताएका छन् । डडेल्धुरा ३४ वर्षदेखि देउवा चुनाव जित्दै आएको क्षेत्र हो ।

यसपटक महरसँग चुनावी प्रतिस्पर्धामा नेकपा एमालेबाट पूर्व राष्ट्रियसभा सदस्य चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल रहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. तारा जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गोविन्द खडायत चुनावी मैदानमा छन् । त्यसैगरी श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन उम्मेदवार छन् ।