चुरे संरक्षण अभियानमा ऐक्यबद्धता जनाए कांग्रेस नेता महरले

चुरे संरक्षण अभियानमा ऐक्यबद्धता जनाए कांग्रेस नेता महरले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चुरे तथा वनजंगल संरक्षण अभियानमा ऐक्यबद्धता जनाएका छन् । उनले यरबारे सरकार र सदनको ध्यानाकर्षण गराएका छन्।

चुरे संरक्षण र वातावरण जोगाउन सप्तरीको भारदहबाट २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुगेर १४ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका अभियन्ताको मागमा वातावरण दिवस अवसरमा ऐक्यबद्धता जनाउँदै नेता महरले यस्तो बताएका हुन्।

जनताले चुरे तथा वनजंगलको संरक्षण गर्नुपर्‍यो भन्दा सरकारले कानमा तेल हालेर बस्नु गलत भएको महरले बताए। ‘उहाँहरूको आन्दोलन शालीन छ, माग जायज छन्। वन र चुरेको चिन्ता गरेर २५ दिन पैदल यात्रा गरेर काठमाडौं पुग्नु र १४ दिनदेखि माइतीघरमा धर्ना दिनु निकै कष्टकर विषय हो। उहाँहरूको चिन्तालाई सरकारले महसुस गरेर माग सम्बोधन गर्नुपर्थ्यो। तर, सरकार कानमा तेल हालेर सुतेको छ। त्यसैले सरकार र सदनको ध्यानाकर्षण गराउन धर्नास्थलमा आएको हुँ,’ उनले भने।

चुरे विनासले तराईमा पानीका मुहान सुकेर हाहाकार हुने स्थिति पैदा हुनु चिन्ताको विषय भएको महरले बताए।

‘चुरे बचाऊ स् हामीलाई पानी देऊ सरकार’ भन्ने प्रभावित क्षेत्रका जनताको माग हो। पानी नपाएसम्म हामी फर्किनौं, बरु यतै मर्छौं भनेर जनता सडकमा छटपटाइरहेका छन्। राज्यलाई बिझेको छैन,’ उनले भने।

चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको र चुरेवासी पानीको संकटबाट गुज्रिनुपरेको अवस्थालाई राज्यले नजरअन्दाज गर्न नहुने महरले बताए।

चुरे मासिँदा भूक्षय बढ्ने, पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा समेत पानीको स्रोत सुक्दै जाने समस्याप्रति महरले चिन्ता व्यक्त गरे। जमिनमुनिको पानीको स्रोत बचाउन वनजंगल फँडानी र अतिक्रमण रोक्नुपर्ने उनको सुझाव छ।