नाइजेरियाका सेना प्रमुख इब्राहिमको विमान दुर्घटनामा मृत्यु

नाइजेरियाका सेना प्रमुख इब्राहिमको विमान दुर्घटनामा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- अफ्रिकी मुलुक नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु भएको छ।नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको एउटा विमान दुर्घटनामा परेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा परी अन्य १० उच्च सैनिक अधिकारीको मृत्यु भएको छ।

खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ।  ५४ वर्षीय जनरल अटाहिरूले गत जनवरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।

इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको उक्त पश्चिम अफ्रिकी देशमा त्यस्तो पुनर्संरचना सेनाको प्रभावकारिता बढाउने सरकारी उद्देश्य अन्तर्गत गरिएको थियो। नाइजेरियन एयर फोर्सका अनुसार विमान कडुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सो दुर्घटना भएको थियो।

राष्ट्रपति मोहम्मदु बुहारीले उक्त दुर्घटनाबारे एउटा ट्वीट गर्दै ‘हाम्रो फौजले देशले सामना गरिरहेको सुरक्षा चुनौतीलाई आत्मविश्वाससाथ अन्त्य गर्न खोजिरहँदा त्यसमा घातक आघात पुगेको’ बताएका छन्।

ठिक तीन महिनाअघि नाइजेरियाको सेनाको एउटा अर्को विमान राजधानी अबुजामा धावनमार्ग छुने क्रममा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा सात जनाको ज्यान गएको थियो।