नक्कली भुटानी शरणार्थी प्रकरण: थुनामा पठाउने आदेशविरुद्धका रिट एकैसाथ राखेर हेर्न आदेश


काठमाण्डु- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धका रिट एकैसाथ राखेर हेर्न आदेश दिएको छ । आज न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले विभिन्न मितिमा उच्च अदालतमा दर्ता भएका रिट निवेदनलाई एकैसाथ राखेर हेर्न आदेश दिएको हो ।

आज भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसी, टेक नारायण पाण्डे, सानु भण्डारी, आङदावा शेर्पा, डा.इन्द्रजित राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मिया र गोविन्द चौधरगरी १० जना प्रतिवादीले छुट्टाछुट्टै मितिमा दायर गरेका रिट निवेदन सुनुवाइका लागि पेशीमा चढाइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाड, पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत १८ जना पक्राउ परेका छन् । हाल उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । सोमबारमात्रै सो प्रकरणमा थप १८ जना पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भन्दै जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement