काठमाण्डु – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार ‘ललितकलामा एआई’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लेखक/पत्रकार अजय शर्माले एआई विषयमाथि पावर प्वान्टमार्फत प्रस्तुति दिएका थिए ।
प्रस्तुतिमा शर्माले एआईको पृष्ठभूमि, विकास, ललितकलामा यसको प्रयोग र प्रभावका बारेमा चर्चा गरेका थिए । शर्माको प्रस्तुतिमाथि नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशवराज खनालले टिप्पणी गरेका थिए ।
उनले एआईको व्यापक प्रयोगले भविष्यमा आउन सक्ने चुनौतिबारे पनि समयमै सचेत हुनपर्ने र एआई जेनेरेटेड कलालाई वर्गीकृत गर्न आवश्यक रहेको बताए ।
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एआईको प्रयोग समयसापेक्ष रूपमा हुन जरुरी रहेको बताए । उनले एआई जेनेरेटेड कलाको पहिचान गर्ने मानक तयार गरी ललितकलामा पहिचान तथा स्थान दिन सकिने बताए ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले एआई लगायतका प्रविधिलाई अनुकूल प्रयोग गरेमा त्यसले सकारात्मक परिणाम दिने बताए । समयानुसार प्रविधिको विकासलाई ग्रहण गर्दै जानुपर्ने र यसले सिर्जनशील कलाकारहरूलाई थप मद्दत गर्ने उनको धारणा थियो ।
प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले एआईको प्रयोग सही निर्देशन विना अर्थपूर्ण नरहने र सोका लागि विस्तृत ज्ञान आवश्यक रहेको बताउँदै विषयवस्तुको स्रोतबारे सचेत रहन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ मुकेश मल्ल, कलाकार दिवेशमान सिंह प्रधान, प्राज्ञ कृष्णराज सर्वहरी, रमेश दाहाल, पत्रकार सुनील पौडेल लगायतले प्रस्तुतिका विषयमा आफ्ना विचार तथा जिज्ञासा राखेका थिए ।
समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार लगायतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया