प्रदर्शनकारीले मन्त्रीलाई घेरेको भनेपछि गोली प्रहार भयोः गृहमन्त्री श्रेष्ठ


काठमाण्डु- गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण बालकुमारी घटनामा स्थति असामान्य बनेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले प्रारम्भिक अध्ययनबाट आन्दोलनकारीहरूसँग मन्त्री ज्वालाले सवाल जवाफ गरेपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको देखिएको बताएका हुन् ।

साथै प्रहरीले फायरिङ गरेपछि मन्त्रीको गाडी जलेको देखिएको उनको भनाइ छ । ‘प्रदर्शनकारीले मन्त्रीलाई घेरेको भनेपछि गोली त्यही बेला प्रहार भयो, त्यो देखिन्छ, फायरिङको सन्देशसँगै उतापट्टि गाडी जलेको देखिन्छ ।’, उनले भने ।

गत शुक्रबार भएको बालकुमारी घटनामा प्रहरीको गोली र पिटाइबाट दुई युवकले ज्यान गुमाएका थिए । सो घटनामा प्रहरीको कमजोरी स्वीकार्दै गृहमन्त्री श्रेष्ठले इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement