अब बकबक गर्ने समय छैन: गृहमन्त्री श्रेष्ठ

अब बकबक गर्ने समय छैन: गृहमन्त्री श्रेष्ठ


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए ।

सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको उनले बताए । उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजान सके मात्र युवालाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए ।

उनले अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे । ‘अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन, सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।’उनले भने । उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए ।