गोरखा – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७५ साल बैशाख ९ गते एमाले र माओवादी पार्टी वीच एकताको घोषणा हुने बताएका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र आफ्नै झण्डा विधान रहने उनले दावी गरेका छन् ।
पालुङटार नगरपालिका वडा नं. ६ स्थित तालदेवि युवा क्लवले गरेको वृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने , समाज र विकास विरोधी बाहेकका सबै कामहरु गर्न अहिलेको कम्युनिष्ट सरकार तयार छ , यसका लागि हामी बैशाख ९ गते नै पार्टी एकता घोषणा गर्ने तयारीमा जुटेका छौं । यो देशको विकास र समृद्धिको फल सबै नेपाली जनतालाई दिनका लागि कम्युनिष्ट सरकार आतुर रहेको भनाई श्रेष्ठको छ ।
यस अघि गोरखा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचनमा पराजित भएका नेता श्रेष्ठ पछिल्ला समय यस क्षेत्रमा आयोजना हुने विद्यालयका वार्षिक उत्सव देखि युवा क्लवका सांस्कृतिक कार्यक्रमहरुमा उपस्थित हुन थालेका छन् । सरकारको प्रशंशा गर्दै नेता श्रेष्ठले यो सरकारले रोजगारी ल्याउने र पाँच वर्ष भित्र ४० लाख युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्ने बताए ।
त्यसका पूर्व तयारीका लागि गोरखामा कृषि क्याम्पस, औद्योगिक करिडोर, पालुङटार हवाई मैदान पुन सञ्चालन, बाह्रै महिना चल्ने मोटरबाटो निर्माण गरिने उनले बताए । देशै भरीका जिल्लाहरुमा त्यहाँको आवश्यकता अनुसारका विकास यो सरकारले अगाडि बढाउने नेता श्रेष्ठको भनाई छ ।
आफूलाई मत दिने र चिन्न नसकेर मत दिन नपाउनु भएका सबैलाई धन्यवाद प्रदान गर्दै देशैभरीबाट बाम गठबन्धनलाई विजय गराएर ६ वटा प्रदेशमा सरकार गठन र केन्द्रमा दुई तिहाइको सरकार बनाउन जनादेश दिएकोमा आफूलाई गर्व लागेको बताए । विकास कुनै एउटा पार्टी, वर्ग, क्षेत्र, जाति, समुदाय, बस्ती, धर्मका लागि नभै सबैका लागि भएको बताउँदै शहर, नगर, गाउँ सबैका कुुना कुनासम्म विकासका लहर ल्याईने उनको भनाई छ ।
गुरु योजना बनाएर यो सरकार अगाडि बढ्ने बताउँदै देश विकासमा कसैले पनि व्यावधान खडा गर्न नसक्ने दावी श्रेष्ठको छ । गोरखाका ठूला टारहरुको सिञ्चाईका लागि चेपे र मर्स्याङ्दीका पानी प्रयोग गरिने उनले बताए ।
कार्यक्रममा पालुङटारका उपमेयर पम्फा बसेल, वडा नं. ६ का वडा अध्यक्ष गोविन्द बराकोटी लगायतले मन्तव्य राखेका थिए भने स्थानिय कलाकारका साथै राष्टिय कलाकारहरु मिलन लामा, अमृता लुङ्गेली मगर लगायतले कार्यक्रममा सहभागिहरुलाई कला संस्कृति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।




प्रतिक्रिया