नारायणकाजीको चेतावनी-सरकार नसच्चिए, अर्को कदम चाल्छौं

नारायणकाजीको चेतावनी-सरकार नसच्चिए, अर्को कदम चाल्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले राणा शासनको अन्त्यपछि बनेका सरकारहरू मध्ये उत्कृष्ट रहेको दाबी गरेका छन् ।

शनिवार काठमाडौँमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले माओवादी केन्द्र नेतृत्वको सरकारले सुशासन र समृद्धिलाई तीव्रता दिएको पनि दाबी गरे ।

उनले भने–‘हामी दाबीका साथ भन्न सक्छौँ, राणा शासनको अन्त्य पछि २००७ सालदेखि कुनै सरकारले नगरेको काम हाम्रो नेतृत्वको सरकारले गर्‍यो । भ्रष्टाचारीहरूलाई कानुन र कारबाहीको दायरामा ल्यायो ।’

प्रधानमन्त्री बनेका बेला प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायलाई अघि बढाएको बताउँदै भ्रष्टाचारविरुद्ध, राज्यलाई लुट्नेहरू, ठगीका विरुद्ध ठुलो अभियान सुरु गरेको पनि उनले दाबी गरे ।

श्रेष्ठले भ्रष्टाचारीहरूलाई जोगाउन, भ्रष्टाचार गर्नका लागि माओवादी नेतृत्वको सरकार ढालेर अहिलेको सरकार बनेको बताए । श्रेष्ठले भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले निद हराम भएपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरे ।

सुशासन र भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा देशमा नयाँ आशा र ऊर्जा भएपछि, सह्य नभएपछि सरकार ढालेको उनले जिकिर गरे । उनले भने, ‘उहाँहरूले हामीलाई शिक्षा दिने, जसले गएको सरकारले ललिता निवास काण्डमा कीर्ते मुद्दामा अदालतमा छ, अख्तियारले दायर गरेको मुद्दामा कैद र जरिवानाको मुद्दा सर्वोच्च अदालतमा छ । एउटा अदालतले दोषी ठहर गरेर अर्को अहिले सर्वोच्चमा विचाराधीन मुद्दा भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यस्तो सह्य हुन सक्दैन ।’

सरकारले भ्रष्टाचारविरोधी अभियान रोक्ने प्रयास गरिरहेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकार सच्चिएर नआए माओवादीले खबरदारीसभामै सीमित नभएर अर्को कदम चाल्नसक्ने चेतावनी पनि दिए ।