को हुन् परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्का ?

को हुन् परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्का ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९)बमोजिम खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका उनले पद तथा गोपनियाताको सपथ ग्रहण गरेलगत्तै कार्यभार समेत सम्हालिसकेका छन् ।

को हुन् उनी ?

परराष्ट्रमन्त्री डा.नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका छन् ।

विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य छन् । विसं २०७० मा उनी सहरी विकास मन्त्री थिए भने २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए ।

खड्काले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन् । राजनीतिक आन्दोलनका क्रममा काठमाण्डु र विराटनगरमा पटकपटक पक्राउ परेका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए ।

राजनीतिसँगै अध्ययन र समाजसेवामा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन् । अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी नेपाली कांग्रेसको प्रभावशाली नेता मानिन्छन् । उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन् । हाल उनी कांग्रेसको परराष्ट्र विभाग प्रमुखसमेत हुन् ।