‘नाम’को उच्चस्तरीय बैठकमा सहभागी भएर परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता

‘नाम’को उच्चस्तरीय बैठकमा सहभागी भएर परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किएका छन् । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए ।

बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेसकक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा. खड्काले बताए ।

असंलग्न आन्दोलनका १०० भन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा. खड्काले असोज २५ गते सम्बोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखापरेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजीलगायत विषयलाई जोडदार रूपमा आवाज उठाएको जानकारी दिए ।

बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य संकट र कोभिड–१९ को महामारीले ल्याएका चुनौतीजस्ता विषय समेत उठान गरेको उनले बताए । साथै, असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रूपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रूपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिए ।

उनले भने, “सम्बाेधनकाे क्रममा मैले संख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरुरी भएको औँल्याएको छु ।” साथै, सम्मेलनमा बहुपक्षीय संस्थाहरू जस्तै स् संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय वित्तयि संस्थाहरूको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री डा. खड्काको भनाइ छ ।

त्यसैगरी, उनले बैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख मुलुकहरूबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण मुलुकबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि सो अवसरमा दिए ।

उक्त बैठककै क्रममा महत्त्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटघाटहरू नेपालका लागि महत्त्वपूर्ण रहेका पनि मन्त्री डा. खड्काको भनाइ छ ।