काठमाण्डु – बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको उभार सुरु हुने बताएका छन् ।
मंगलबार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते नागरिक–घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए ।
उनले भने, ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ । त्यही सभामा बृहत् नागरिक आन्दोलनको घोषणा पत्र हामी सार्वजनिक गर्दछौं । र, नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं ।’
उनले ७० वर्षदेखिको एक–एक हिसाब सरकारसँग माग्नुपर्ने बताए । वाग्लेले हिजो राणा शासनमा हिँड्न नपाइने भन्दै आज पनि देशमा निषेधाज्ञा रहेको बताए ।
‘अब शासकहरूले भन्नुपर्छ, हिजो सिंहदरबार कसले बनायो ? त्यो माटो केले बनेको थियो ? सिंहदरबारको नेपाली जनताको गाँस, बास, चामल र मास घर–घरबाट खोसेर ल्याएर बनाइएको हो । त्यसरी सिंहदरबार बनाउँदा छ महिनासम्म पहाडमा र भक्तपुर–काठमाण्डुमा अनिकाल परेको थियो’, उनले भने ।




प्रतिक्रिया