धार्मिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

धार्मिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिबास – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षाका लागि कानूनी शासन एवं राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताएका छन् ।

धार्मिक एवं सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम महंगी रोक्न समेत उनले निर्देशन दिए ।

मधेश प्रदेशको समसामयिक सुरक्षाबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिएपछि उनले निर्देशन दिए ।

महोत्तरीको बर्दिबासमा सम्पन्न गृह प्रशासन र सुरक्षा अधिकारीहरूबीचको अन्तरक्रियात्मक बैठकमा गृहमन्त्री श्रेष्ठले जनताले सुशासन तथा गुणात्मक आर्थिक समृद्धि चाहेकोले सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउन, शान्ति सुरक्षा चुस्त बनाउन, भ्रष्टाचारी एवम् अपराधीलाई कानूनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिए ।

सबै किसिमका विभेदको अन्त्य, जोखिम न्युनीकरण, प्रकोप पीडितको प्रभावकारी उद्धार एवं राहत, लागूऔषधको नियन्त्रण जस्ता प्राथमिकतामा अझै चुस्त र प्रभावकारी काम गर्न समेत गृहमन्त्री श्रेष्ठले निर्देशन दिए । मुद्दा मिलाउने भन्दै मिटरब्याजी र पीडितबाट रकम असुल्ने गरिएको गुनासो आफूलाई प्राप्त भएकाले त्यस्तो प्रवृत्ति क्षम्य हुन नसक्ने उनले बताए । प्रहरीमा महिला सेल भएजस्तै दलित सेल समेत स्थापना गर्न निर्देशन दिइसकिएको उनले बताए ।

ध्यान तथा योगाले सेवामा समर्पणभाव पैदा गर्ने भएकोले त्यसलाई स्वजागरणका रूपमा आत्मसात गर्न समेत उनले अनुरोध गरे ।

प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानून र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा कतिपयबाट बाधाव्यवधान खडा गर्न खोजिएको, पालिकाका जनप्रतिनिधिको बेमेलले समेत सुरक्षा चुनौती खडा गरेको, सामाजिक सञ्जालमा आउने कतिपय सामाग्रीले उत्तेजना निर्माण गर्न खोजेको लगायतका समस्या उजागर गरेका छन् ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनीहरूको भनाइ थियो । प्रशासन र सुरक्षा संयन्त्रले सबै किसिमका गैरकानूनी गतिविधिलाई प्रत्यक्ष तथा सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई तन्दुरुस्त राखिएको समेत जनाएका छन् ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न अन्तर्क्रियात्मक बैठकमा प्रदेश सरकारका मुख्यसचिव दिनेश घिमिरे, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुख ओमप्रकाश जोशीले समेत बोलेका थिए । कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराई, नेपाली सेनाका मध्यपूर्वी पृतनापति उपरथि प्रेमध्वज अधिकारी लगायतका व्यक्तित्वहरू सहभागी थिए ।