काठमाण्डु – इरान भ्रमणका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रसियाका उपविदेशमन्त्री आन्द्रेई रुदेन्कोसँग भेटवार्ता गरेका छन् ।
एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी संगठन ‘एसिया कोअपरेसन डाइलग (एसीडी) का विदेश मन्त्रीहरूको बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका मन्त्री श्रेष्ठले उपविदेशमन्त्री आन्द्रेईसँग भेट भएको जानकारी दिए ।
‘भेटका क्रममा नेपाली युवाहरू रसियन सेनामा भर्ना भएको विषयमा मैले छलफल गरें । रसियन सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन आग्रह गरें,’ उनले भने, ‘उहाँले समस्यालाई गम्भीरताका साथ लिनुभयो ।’
रुसी सेनामा रहेका नेपालीलाई फिर्ता गर्ने थप प्रक्रियाका लागि नेपाली राजदूतलाई पठाउन उपविदेशमन्त्री आन्द्रेईले आग्रह गरेको जनाइएको छ । नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको विषय पटक–पटक चर्चामा आउने गरेको छ । परराष्ट्रमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा भेट भएको मौकामा कुरा राखेर समाधानको प्रयास गरेका छन् ।
इरानको राजधानी तेहरानमा आयोजना भएको बैठकमा सहभागी भएर श्रेष्ठ मंगलबार स्वदेश फर्किएका छन् । भेटमा उपविदेशमन्त्री आन्द्रेईले यस्तै समस्या अन्य देशबाट पनि आइरहेकाले आफूले समाधानको कोसिस गर्ने वचन दिएका उनले बताए । ‘मैले जतिसक्दो चाँडो नेपालीलाई स्वदेश फर्काइदिन आग्रह गरें, उहाँले स्वदेश फर्किएर प्रक्रिया अगाडि बढाउने वचन दिनुभयो,’ उनले भने ।
अवैध बाटोबाट रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्यु समेत भएको छ । रुसी सेनामा भर्ना भएका नेपालीको यकिन विवरण सरकारसँग पनि छैन । अवैध बाटोबाट रुस छिरेका नेपाली युवाहरू उच्च जोखिममा रहेका छन् ।




प्रतिक्रिया