विदेशबाट ३० लाख नेपाली फर्काउन नसके राजनीतिक उद्देश्य प्राप्त हुँदैन : उपाध्यक्ष श्रेष्ठ

विदेशबाट ३० लाख नेपाली फर्काउन नसके राजनीतिक उद्देश्य प्राप्त हुँदैन : उपाध्यक्ष श्रेष्ठ


ललितपुर – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विदेशी भूमिबाट ३० लाख नेपालीलाई फर्काउन नसके राजनीतिक उद्देश्य प्राप्त हुन नसक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन नेपाल बुद्धिजीवी संगठनको शनिबार आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले भने, ‘विदेशी भूमिमा श्रम गर्न गएका ३० लाख नेपालीलाई हामीले फर्काउन सकेनौं भने हाम्रो राजनीतिक उद्देश्य प्राप्त हुन सक्दैन, अब सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ ।’

उनले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताए । उनले भने, ‘पार्टीको रूपान्तरण अनिवार्य शर्त हो, नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई सफल बनाउँदै समृद्धितर्फ लैजाने हाम्रो कार्यभार हो ।’

समाजवादउन्मुख समावेशी लोकतन्त्र संविधानको अन्तरवस्तु हो भन्दै परम्परागत संसदीय गणतन्त्र माओवादीको कार्यदिशा नभएको उनले स्पष्ट गरेका छन् ।