प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव : संवेदनशील कुरा हलुका रूपमा सार्वजनिक गर्नु उचित थिएन

प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव : संवेदनशील कुरा हलुका रूपमा सार्वजनिक गर्नु उचित थिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई संवेदनशील परिस्थितिमा संयमता अपनाउन र चुनावलाई तोकिएको मितिमै सम्पन्न गर्न आग्रह गरेका छन् ।

श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा लेख्दै अन्तरिम सरकारको केन्द्रीय कार्यभार फागुन २१ गते तोकिएको आमनिर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै त्यसलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौं, तर प्रधानमन्त्रीज्यूले कम बोल्नुस्, काममा केन्द्रित हुनुस्, गलत नबोल्नुस् । बोलेकोमा त्रुटि भए तत्काल सच्याउनुस् र दोहोर्‍याउन नदिनुस् ।’

श्रेष्ठले प्रधानमन्त्री कार्कीले बीबीसी नेपाली सेवासँग दिएको अन्तर्वार्तामा निर्वाचन मिति १५ दिन वा २ महिना धकेलिन सक्ने सम्भावना प्रकट गरेको प्रसंगलाई गम्भीर गल्तीको रूपमा व्याख्या गरे । उनले प्रधानमन्त्रीलाई यस्तो कार्यादेश नभएको उल्लेख गर्दै तोकिएको मितिबाहेक चुनाव धकेलिन नसक्ने स्पष्ट गरे । ‘निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर संकटमा धकेलिन सक्छ, त्यसैले अन्यथा सोच्नै मिल्दैन,’ उनले भने ।

उनले प्रधानमन्त्रीले अन्तर्वार्तामा राष्ट्रपतिले दिएको सल्लाह सार्वजनिक गरेको विषयलाई पनि आलोचना गरे । प्रधानमन्त्रीले राष्ट्रपतिले सबै दलबाट प्रतिनिधि लिएर सरकारमा ल्याउन सुझाव दिएको तर आफूले नमानेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएको विषयमा श्रेष्ठले असन्तुष्टि जनाए । उनले भने, ‘विषयगत रूपमा म प्रधानमन्त्रीसँग सहमत छु तर त्यस्तो संवेदनशील कुरा हलुका रूपमा सञ्चार माध्यममार्फत सार्वजनिक गर्नु उचित थिएन ।’

श्रेष्ठले सरकार र प्रधानमन्त्रीलाई अझ स्पष्ट, दृढ र गम्भीर भएर अघि बढ्न आह्वान गर्दै संविधान, लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकता जोगाउने मुख्य बाटो तोकिएको मितिमा चुनाव सम्पन्न गर्नु नै भएको दोहोर्‍याए । उनले समयमै निर्वाचन सम्पन्न गर्ने कार्यबाट विचलन भयो भने ठूलो दुर्भाग्य निम्त्याउने चेतावनी समेत दिए ।