गृह मन्त्रालयका महिला कर्मचारीलाई उपप्रधानमन्त्री श्रेष्ठले दिए तीजको शुभकामना


काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौं पक्षहरू भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले महिला कर्मचारीहरूलाई तीजको शुभकामना दिए ।

तीज एक सामाजिक–सांस्कृतिक पर्व भइसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्ने र खानपिन तथा लगाइखुवाईको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने उनले बताए ।

‘उल्लास त गर्ने नै हो तर आफ्नो जिम्मेवारीमा सधैं प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर,’ उनले भने ।

निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे । महिला कर्मचारीसहित एकैछिन नाचेका श्रेष्ठले शरीरसँगै मन पनि नाच्नुपर्ने र योग–ध्यानलाई पनि नियमित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement