धार्मिक संघसंस्थालाई गृहमन्त्री श्रेष्ठले भने – मुलुकमा द्वन्द्व फैलाउन खोजे कारबाही हुन्छ


काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा धार्मिक द्वन्द्व फैलाउन खोजे कारबाही हुने चेतावनी दिएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिलाई बोलाएर उनले सामाजिक सद्भाव र सहिष्णुता सहितको राष्ट्रिय एकता कायम गर्न आग्रह गरे ।

व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधता सहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरूले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

गृहमन्त्री श्रेष्ठले मुलुकमा नियोजित रूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जोकोहीलाई पनि सरकारले नियन्त्रणमा लिने बताए ।

एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखापरेका घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement