काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई नयाँ पार्टी गठन गर्न प्रस्ताव गरेका छन् ।
विप्लवले बुधबार बिहान श्रेष्ठनिवास हात्तिवन पुगेर उनलाई नयाँ पार्टी गठनको प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार एमसीसी अनुमोदनपछि नेता श्रेष्ठले सार्वजनिक रुपमा विरोध जनाएपछि विप्लवले उनलाई फोनमार्फत ‘नयाँ पार्टी गठनका लागि पहल गरौं भन्दै’ प्रस्ताव राखेका थिए ।
जवाफमा श्रेष्ठले ‘भेटेरै कुरा गरौन’ भनेपछि आशावादी बनेका विप्लव बुधबार बिहानै श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । दुई नेताबीच करिब १ घण्टा भएको छलफलका क्रममा विप्लवले श्रेष्ठसँग ‘प्रचण्डजीबाट क्रान्ति अघि बढ्न सक्दैन, प्रचण्डजीले सत्ताभन्दा अरु देखेकै छैनन् । त्यसैले क्रान्ति सम्पन्न गर्न नयाँ पार्टी गठन गरौं’ भनेका थिए । तर, नेता श्रेष्ठले भने अहिले नै त्यो निष्कर्षमा पुग्न नसकिने जवाफ दिएकाे स्रोतले बतायाे।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा चित्त नबुझे छाड्दा पनि आफुलाई आपत्ति नहुने अभिव्यक्ति दिएपछी श्रेष्ठ उनिसंग आक्रोसित बनेका छन् ।
प्रचण्ड श्रेष्ठलाई भेट्न मंगलबार उनकै निवासमा पुगेका थिए । उनले आफुले त्यस्तो नभनेको भन्दै पार्टी नछोड्न आग्रह गरेका थिए । तर, श्रेष्ठले पार्टी छोड्न भनेकाले आफुले विकल्प खोज्न सक्ने संकेत समेत दिएका थिए ।
अमेरिकी सहायता सम्झौता अनुमोदनमा माओवादी केन्द्र सहभागी भएको भन्दै श्रेष्ठसहित नेताहरु कृष्णबहादुर महरा, गिरिराजमणी पोखरेल, अन्जना विशंखे, जयपुरी घर्ती र देव गुरुङलगायत नेताहरु असन्तुष्ट छन् । तर, गुरुङ र महराले भने अन्तिममा अध्यक्ष प्रचण्डको निर्णयलाई नै सहयोग गरेका थिए ।
श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लव र उनको भेटलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ । विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा आन्दोलनको घोषणा गरिसकेका छन् ।
हिंसात्मक गतिविधिमा रहँदा विप्लवको पार्टीप्रति जनमानसमा त्रास थियो । त्यतिबेला नेता कार्यकर्ता चन्दा असुलिमा लिप्त थिए । तर, हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आएसँगै ति नेता कार्यकर्ता सबै लाखापाखा लागेपछि विप्लव कार्यकर्ताविहीन भएका छन् । उनी हाल राजनीतिक स्पेस खोज्न व्यस्त छन् ।
संसदीय व्यवस्थामा राजनीतिक अस्तित्वका लागि निर्वाचन जित्नै पर्ने बाध्यात्मक परिस्थितिका कारण विप्लव कुनै न कुनै पार्टीसँग एकता गरेर अघि बढ्ने तयारीमा लागेका हुन् ।
केपी ओली सरकारसँग सम्झौता गर्दै हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले विभिन्न चरणमा धेरै नेतालाई भेटिसकेका छन् । तर, उनले हालसम्म मेसो भने पाएका छैनन् ।




प्रतिक्रिया