काठमाण्डु– नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच शुक्रबार हात्तिवनस्थित श्रेष्ठको निवासमा भेटवार्ता भएको छ।
हालै सम्पन्न माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी एकताको पहल गर्ने निर्णय गरेसँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भुसालसँग भेट गरेका हुन्।
करिब एक घण्टा चलेको उक्त भेटमा दुबै नेताबीच पार्टी एकताको प्रस्ताव, यसको औचित्य, सम्भावना तथा वर्तमान राजनीतिक परिस्थिति बारे विस्तृत कुराकानी भएको बताइएको छ ।
छलफलका क्रममा उनीहरूले नेपालको विभिन्न राजनीतिक दलहरूको वर्तमान भूमिका, कम्युनिष्ट आन्दोलनको रूपान्तरण तथा पुनर्गठनका आवश्यकता, र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको आगामी कार्यभारबारे पनि विचार विनिमय गरेका थिए।
दुबै नेताले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरंकुश र भ्रष्टाचारतर्फ उन्मुख भइरहेको आरोप लगाउँदै आलोचना गरेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता सम्भावनाबारे चर्चा चलिरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सँग पनि भेट गरेका थिए। माओवादी केन्द्रले स्थायी कमिटी बैठकबाटै विप्लव समूहसँग एकता गर्ने निर्णय गरे पनि प्रक्रिया अझै अघि बढ्न सकेको छैन।
विप्लव पक्षका नेताहरूले तत्काल एकताको सम्भावना नरहेको बताएका छन् भने माओवादी केन्द्रले वार्ता टोली गठन गरी छलफललाई निरन्तरता दिने तयारी गरिरहेको जनाएको छ।




प्रतिक्रिया