काठमाण्डु – सुत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल–भारतबीचको सन् १९५० को सन्धि खारेज गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल भारतबीच आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सन् १९५० को सन्धि असमान रहेकाले खारेज गरेर नयाँ सन्धि ल्याउनुपर्ने बताएका हुन् ।
‘सन् १९५० को सन्धि असमान र अपमानजनक छ । त्यो सन्धी खारेज गरेर नयाँ सन्धी गर्नुपर्छ’, पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘नेपाललाई भारतको सुरक्षा छाता राख्ने प्रावधान समेत छन् । भारतले यो सन्धिबाट भाग्न मिल्दैन ।’
प्रवक्ता श्रेष्ठले भारतसँग सीमा विवादका विषयमा चाँडै वार्ता गर्नुपर्ने बताएका छन् । सीमाका विषयमा राजनीतिक र कूटनीतिक माध्यमबाट वार्ता गर्नुपर्ने उनको भनाई छ ।
भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरिसकेको स्मरण गर्दै उनले नेपाल प्रमाणसहित भारतसँग वार्ता गर्न तयार रहेको बताए ।
उनले भने, ‘भारतले विश्व जगतलाई देखाउनका लागि नेपालसँग वार्तामा बस्नै पर्छ ।’




प्रतिक्रिया