काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको महामारीबाट चौतर्फी संकट गहिरिँदै गएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको नियन्त्रण र यसबाट उत्पन्न परिस्थितिको व्यवस्थापन सरकारले गर्नुपर्ने बताए ।
‘कोभिड–१९ ले उत्पन्न गरेको चौतर्फी संकट गहिरिदै गएको छ । यसको नियन्त्रण तथा ब्यबस्थापनको जिम्मेवारी हामी सबैको हो र,मुलतः सरकारको हो । यो महामारी र बिश्वब्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति हुँदैन भन्ने कुरा पनि स्पष्टै छ’, उनले भने ।
प्रवक्ता श्रेष्ठले सबैले जिम्मेवारी बोध गर्दै सरकारले आफ्नो दायित्व भूल्न नहुने बताएका छन् । उनले सरकारले अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने बताए ।
‘हामी कसैले पनि आफ्नो जिम्मेवारीबाट पञ्छन मिल्दैन । तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नु पर्ने आवश्यकता छ’, उनले भने ।
साथै प्रवक्ता श्रेष्ठले सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
उनले सरकारले प्रतिपक्षी दललगायतका राजनीतिक पार्टीहरु र बिज्ञहरुको बैठक बोलाई परामर्श गर्नु उचित हुने सुझाव दिएका छन् ।




प्रतिक्रिया