काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका निम्ति आफूहरुले ठूलो अपेक्षा नगरेको बताएका छन् ।
‘हामीले पार्टी एकता कायम गर्नुपर्छ । पार्टी एकता कायम गर्नका लागि हामीले ठूलो अपेक्षा गरेका छैनौं । हामीले गर्नुपर्ने कुरा के हो भने– पार्टीलाई विधि र पद्धतिमा चलाउने, पार्टीको निर्णयलाई सबैले मान्ने/कार्यान्वयन गरियो भने पार्टी एकता जोगियो’, उनले भने ।
प्रवक्ता श्रेष्ठले पार्टीलाई विधि र सिद्धान्तमा चलाउन सके मात्रै एकताको रक्षा हुने दाबी गरेका छन् । उनले पार्टीभित्र देखा परेका मतभेदहरुलाई वार्ता र संवादका माध्यमबाट हल गर्न सकिने बताएका छन् ।
‘पार्टीमा निश्चित रुपमा विचारमा, सिद्धान्त, विधि, संगठन निर्माणको अवधारणा, सञ्चालनका नीतिगत पक्षमा हाम्रा मतभेदहरु होलान । अहिलेका छलफलहरु ति मतभेदसँग सम्बन्धित पनि होलान, तर औपचारिक रुपमा वैचारिक सिद्धान्त राजनीतिक बहस त सुरु भइसकेको छैन्’, उनले भने, ‘त्यो मतभेद औपचारिक रुपमा प्रकट भइसकेको छैन् । अहिले भनेको पार्टीको निर्णय मान्ने कि नमान्ने ? कार्यान्वयन गर्ने कि नगर्ने भन्ने हो ।’
उनले सबैलाई आत्मआलोचना गर्न गर्न र पार्टी निर्णय मान्न पनि नेता/कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले महाधिवेशनसम्म मिलेर जान र महाधिवेशनले छानेका नेतृत्वले पार्टी सञ्चालन गर्ने बताएका छन् ।
‘सबै आत्मआलोचक हौं र पार्टीको निर्णय सबैले मान्छौं र पार्टी एकता कायम गर्छौं भनौं र पार्टी एकताबद्ध भइहाल्छ र महाधिवेशनमा जाउँ । महाधिवेशन सफल पारौं । वैचारिक राजनीतिक कार्यदिशा पनि नयाँ संश्लेषण गरौं’, उनले भने ।
उनले पार्टी एकता जनता र देशको आवश्यकता भएकाले एकतालाई नयाँ उचाईम ापुर्याउन पनि आग्रह गरेका छन् ।
‘पार्टी एकतालाई नयाँ उचाईमा सुद्धृढ गरौं । पार्टी एकताको संकटकाल अन्त्य गरौं । पार्टी एकताको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । पार्टी एकतालाई रक्षा गरेर नै अहिलेको जनता र राष्ट्रको अवाश्यकतालाई पूरा गर्न सक्छौं’, प्रवक्ता श्रेष्ठले भने ।




प्रतिक्रिया