काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अलग गरेर जाने विषय मान्य नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘पार्टी अलग–अलग गरेर जाउ’ भनेको विषय गलत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
‘सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि सही होइन । तर त्यसमा अन्तर्निहित एउटा पक्ष ,अर्थात ब्यक्तिगत कटुता सहितको ब्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं’, उनले भने ।
प्रवक्ता श्रेष्ठले पार्टीभित्रका समस्या छलफल र वार्ताका माध्यमबाट टुंगो लगाउन नेतृत्वसँग माग गरेका छन् । उनले व्यक्तिगत रुपमा गालीगलौज र आरोप-प्रत्यारोपमा नउत्रिनअध्यक्षहरुलाई आग्रह गरेका छन् ।
‘पार्टी भित्रको छलफल्, बहश र अन्तर्संघर्षलाई ब्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं’, प्रवक्ता श्रेष्ठले भने ।
उनले पार्टी एकताको रक्षा गर्न र भष्ट पूँजीवादी पार्टी बन्न नदिन पनि आग्रह गरेका छन् ।
‘पार्टी एकताको रक्षा गरौं । साथै पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भष्ट पुँजीवादी पार्टी बन्न पनि नदिऔं’, उनले भने ।




प्रतिक्रिया