काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्टलाई भ्रष्टीकरणबाट जोगाउनुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झुठा प्रचारमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले आफूहरुका लागि देश, जनता, पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुने बताए ।
‘पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उदेश्यलाई केन्द्रमा राखी बिचार,सिध्दान्त ,राजनीति ,मूल्य र तथ्यमा आधारित भएर छलफल (बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झुठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘हाम्रा लागि देश ,जनता ,पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई बिकृतीकरण तथा भ्रष्टीकरणबाट बचाउनु पर्दछ ।’
त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा बिघटन गरेको आरोप लगाएका छन् ।
‘संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा बिघटन गर्ने प्रतिगामी कदमको बिरुध्द हामी संविधान ,संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं’, उनले भने ।
प्रवक्ता श्रेष्ठले उक्त असंवैधानिक कदम चालिएको पौष ५ गतेको कालो दिन र पौष ७ गते नेकपालाई कमजोर पार्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने उदेश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्याइएको बताए ।
‘हामी त्यसप्रकारको बिसर्जनवादी प्रवृत्तिबिरुद्ध पार्टी तथा नेपाली कम्युनिष्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं । यतिबेला हामी मुख्यतः प्रतिगमन बिरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिइरहेकाछौं’, उनले भने ।




प्रतिक्रिया