एकतामुखी संवादमा नारायणकाजीको ‘म्याराथुन’

एकतामुखी संवादमा नारायणकाजीको ‘म्याराथुन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले विभिन्न पार्टीका शीर्ष वामपन्थी नेताहरूसँग राजनीतिक संवाद तीव्र बनाइरहेका छन्।

माओवादीको गत साउन १६ देखि १९ गतेसम्म बसेको स्थायी समिति बैठकले समान विचार भएका पार्टीहरूसँग एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि श्रेष्ठको सक्रियता बढेको हो।

स्थायी समिति बैठकले समाजवादी मोर्चालाई थप सुदृढ र विस्तार गर्ने, विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने र त्यसका लागि पहल गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो। साथै, समाजवादी मोर्चामा आबद्ध अन्य पार्टीहरूसहित अन्य समान विचार भएका दलहरूसँग पनि सहकार्य गर्दै अन्ततः एकतासम्म पुग्ने पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ।

श्रेष्ठले बितेको एक हप्तामा विभिन्न वामपन्थी नेताहरूसँग भेटघाट गरेका छन्। सोमबार उनले जसपा–नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। यादव पनि वामपन्थी पृष्ठभूमिका नेता हुन्।

गत आइतबार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग करिब डेढ घण्टा छलफल गरेका थिए। लोकतान्त्रिक व्यवस्था, कम्युनिष्ट आन्दोलन, पार्टी एकीकरण तथा देशभक्तबीचको सहकार्य लगायतका विषयमा खनाल–श्रेष्ठ वार्ता केन्द्रित थियो।

खनालसँगको भेटपछि श्रेष्ठले भने, “पार्टी एकीकरणको सवालमा सकारात्मक छलफल भयो।”

त्यसपछि, बुधबार श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र शुक्रबार नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालसँग भेट गरेका थिए।

यी दुवै भेटमा अन्य विषयहरूसँगै पार्टी एकीकरणको मुद्दा पनि प्रवेश पाएको थियो।

भुसालसँग भेटपछि श्रेष्ठले भने, “समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलन, लोकतान्त्रिक परिवर्तनको रक्षा तथा लोकतान्त्रिक देशभक्तहरूको सहकार्यलगायत विषयमा छलफल भयो।”

बैठकले गरेको निर्णयको कार्यान्वयनका लागि नै श्रेष्ठले वामपन्थी नेताहरूसँगको भेटघाटलाई तीव्र पारेका हुन्।

खनालसँगको भेटमा श्रेष्ठले आफ्नो पार्टीको स्थायी समितिबाट पारित ‘पार्टी एकता प्रस्ताव’बारे जानकारी गराउँदै सहकार्यका लागि आग्रह गरेका थिए। जवाफमा खनालले वामपन्थी तथा देशभक्त शक्तिबीचको एकता र सहकार्यको पक्षमा आफू रहेको धारणा राखेका थिए।

यस्तै, जसपा–नेपालका अध्यक्ष यादवसँगको भेटमा पार्टी एकताबारे ठोस छलफल नभए पनि वर्तमान राजनीतिक परिस्थितिको गहिरो समीक्षा र संघीय लोकतान्त्रिक गणतन्त्र तथा समाजवादउन्मुख समावेशी लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्डसँग रुष्ट रहेका अध्यक्ष यादव समाजवादी मोर्चामा सक्रिय छैनन्।