नरेन्द्र मोदी : लोकप्रियता र ध्रुवीकरणको एक दशक

नरेन्द्र मोदी : लोकप्रियता र ध्रुवीकरणको एक दशक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री बनेको १० वर्षपछि नरेन्द्र मोदीले पुनः सत्तामा पुग्ने उद्देश्य राखेका छन् । उनी भारतको राजनीतिमा कसरी एक दशकभरि छाइराख्ने मुख्य नेता बन्न सफल भए ? धेरै मतदाता मोदीले सन् २०१४ मा पदभार सम्हालेयता भारतको स्थितिमा सुधार आएको मान्छन् । तर के आफ्नो जीविकाका लागि संघर्ष गर्ने मानिसहरूले यो निर्वाचनमा उनलाई समर्थन गरिरहेका छन् त ?

भारतमा आज शनिबार अन्तिम चरणको मतदान भइरहेको छ । यसअघि विभिन्न ६ चरणमा मतदान भएको हो । सबै मतदान सकिएपछि जुन ४ देखि मतगणना हुनेछ ।

७३ वर्षीय मोदी देश र विदेशमा निकै लोकप्रिय छन्, उनका आलोचक पनि उत्तिकै छन् ।

उनका समर्थकहरू मोदीलाई सबल, कुशल र आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने नेता मान्छन् । आलोचकहरू भने उनको सरकारले केन्द्र सरकारका विभिन्न संस्थाहरूलाई कमजोर बनाएको, भिन्न मत र स्वतन्त्र प्रेसलाई दमन गरेको र अल्पसंख्यक मुस्लिम समुदायलाई खतरा महसुस हुने स्थितिमा पुर्‍याएको आरोप लगाउँछन् ।

राजनीतिक विश्लेषक रवीन्द्र रेश्मी भन्छन्, ‘मोदीका या त कट्टर प्रशंसक छन् या कट्टर आलोचक । कि त तपाईँ उनलाई मन पराउनुहुन्छ कि मन पराउनुहुन्न ।’
चुनावअघि भएका मतसर्वेक्षणहरूले मोदीलाई प्रतिद्वन्द्वीहरूको तुलनामा धेरै अगाडि देखाएका छन् । त्यसैले उनको पार्टीले नै आगामी सरकार पनि बनाउने ठानिएको छ ।

मोदीले आफ्नो दल भारतीय जनता पार्टी (भाजपा) लाई लोकसभामा भएका ५४२ सीटमध्ये ३७० जिताउने दुष्कर लक्ष्य राखेका छन् । सन् २०१९ मा भाजपाले ३०३ सीट जितेको थियो । यसको अर्थ भाजपा यसअघि जितेका उत्तरी राज्य पूरै जोगाउनुका साथै परम्परागत रूपमा कठिन ठानिएका दक्षिणी राज्यहरूमा पनि बलियो बन्नुपर्ने छ ।

गत वर्ष भारतले जी–२० शिखर सम्मेलनको आयोजना गरेको थियो । मोदीकै प्रयासका कारण सम्मेलन आयोजना भएको हो भने जस्तो भान पर्ने गरी प्रचारप्रसार गरिएको थियो ।

‘मोदीले उक्त सम्मेलनलाई असाध्यै ठूलो कार्यक्रममा रूपान्तरित गरिदिए । यस्तो सम्मेलन के हो र यसको उपयोग कसरी गर्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा छ,’ ब्रयान्ड निर्माण विशेषज्ञ सन्तोष देसाईले यो वर्षको सुरुमा बीबीसी हिन्दीसँग भनेका थिए ।

‘आलोचकहरू उनको सरकारले केन्द्र सरकारका विभिन्न संस्थाहरूलाई कमजोर बनाएको, भिन्न मत र स्वतन्त्र प्रेसलाई दमन गरेको र अल्पसंख्यक मुस्लिम समुदायलाई खतरा महसुस हुने स्थितिमा पुर्‍याएको आरोप लगाउँछन् ।’

मोदी र उनको समूहसँग ब्रयान्डिङ र भाष्य नियन्त्रण गर्ने विषयमा राम्रो ज्ञान छ । उनी जताततै देखा पर्छन् तर विरलै मात्रै कडा प्रश्न सोध्न सकिने गरी पत्रकार वा नागरिकका अगाडि उपस्थित हुन्छन् । प्रधानमन्त्री भएयता उनले भारतमा कहिल्यै पत्रकार सम्मेलनको आयोजना गरेका छैनन् । उनले अन्तर्वार्ता पनि विरलै दिएका छन्, उनलाई चुनौती पनि विरलै दिइएको छ ।

राजनीतिक विश्लेषक आरके उपाध्यायका अनुसार प्रधानमन्त्री बन्नका लागि उनले २००२ को गुजरात दङ्गा, जसमा १,००० भन्दा धेरै मानिसको ज्यान गएको थियो, का निम्ति जिम्मेवार व्यक्तिको रूपमा सञ्चारमाध्यममा बनेको छविलाई फेर्न सक्नुपर्छ । ‘त्यसैले मेरो विचारमा उनी दिल्ली आएपछि उनले सञ्चारमाध्यमलाई देखाउन चाहे–हेर, मलाई तिमीहरूको आवश्यकता छैन । म तिमीहरूबिनै जनतासँग जोडिन सक्छु,’ उपाध्याय भन्छन् ।

जनतासँग सीधै जोडिने अवसरलाई उनले खेर जान दिएका छैनन् । मोदी हालै भारतीय युवाहरूको बीचमा पुगेर खेल क्षेत्रका हस्तीसँग समय बिताए र लोकप्रिय प्रभावशाली युवाहरूलाई पुरस्कृत गरे । ती सबै गतिविधि क्यामराका अगाडि भएका थिए ।

‘मोदीले गर्ने र सञ्चारमाध्यममा प्रस्तुत हुने धेरै कुराहरू विम्बात्मक छन् । उनी दुर्गम क्षेत्रमा सीमामा खटिएका सैनिकहरूसँग वा सीमान्तीकृत मानिसहरूसँग बिदा वा चाडबाड मनाउँछन्,’ राजनीतिक विश्लेषक सन्दीप शास्त्री भन्छन् ।

उनका नियमित रूपमा हुने र अन्य विदेश भ्रमणबारे घरेलु सञ्चारमाध्यमले बढाइचढाइ गरेर विवरण प्रस्तत गर्छन्, भारतमा उत्सव मनाइन्छ । विदेशमा आप्रवासीहरूको विशाल सभामा उनले दिएको भाषणलाई विदेशमा उनको लोकप्रियताको प्रमाणका रूपमा स्थानीय टीभीहरूले देखाउँछन् । त्यस्ता भ्रमणको उपलब्धिबारे भने भारतका मूलधारका सञ्चारमाध्यममा विरलै विश्लेषण भएको छ ।

तर मोदीसँगसबै मानिस प्रभावित छन् भन्ने होइन । मुस्लिम बाहुल्य भएको बाराणसीको लोहतामा निकै थोरै परिवर्तन भएको देखिन्छ । बरु मोदी सत्तामा आउनुअघि विपक्षीले ‘मुस्लिम दाजुभाइ दिदीबहिनीलाई तर्साउने काम गरेको’ भाजपा नेताहरूको आरोप छ ।

तर विगत १० वर्षमा दक्षिणपन्थी समूहद्वारा मुसलमानहरूमाथि कैयौँ हमला भएका छन् । तीमध्ये अधिकांश घातक प्रकृतिका छन् । मुस्लिमविरोधी घृणास्पद भाष्य पनि बढेको छ ।

‘भारत र पाकिस्तानको विभाजन हुँदा मोहम्मद अलि जिन्ना (पाकिस्तानका संस्थापक) ले बोलाउँदा समेत हाम्रा पितापुर्खाहरू यही देशमा बसे । हामीले पनि यो देशको निर्माणमा आफ्नो रगत बगाएका छौँ । तैपनि हामीमाथि दोस्रो दर्जाको नागरिकको व्यवहार भइराखेको छ,’ वाराणसीमा मोदीविरुद्ध चुनाव लड्दै गरेका अतहर जमाल लारी भन्छन् ।

त्यसो त मोदी स्वयंमाथि पनि उनी विभाजनकारी भएको आरोप छ । उनीमाथि खास गरी चुनावी सभाहरूमा मुस्लिमविरोधी भाषा प्रयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर उनले त्यस्तो आरोप अस्वीकार गर्दै आएका छन् ।

हिन्दू र मुस्लिम समुदायबीचको ध्रुवीकरणका कारण विगतमा आफूलाई फाइदा पुगेका बिहार, उत्तर प्रदेश र राजस्थानमा भारतीय जनता पार्टीले आफ्ना समर्थकलाई एकजुट राख्ने प्रयास गरेको राजनीतिक विश्लेषक नीलञ्जन सरकार बताउँछन् । विशेष गरी बेरोजगारीजस्ता विभिन्न कारणले प्रभावित आफ्ना युवा कार्यकर्तालाई सक्रिय राख्न पनि त्यो महत्त्वपूर्ण छ ।

भाजपा विगतका दुइटा निर्वाचनमा जस्तो कुनै ठूलो राष्ट्रिय विषय वा लहर नभएकाले यसपालि केही चिन्तित देखिन्छ । सन् २०१४ मा कंग्रेस पार्टीको नेतृत्वमा भएको सरकारविरुद्ध ठूलो आक्रोश थियो, धेरैले उक्त सरकारलाई भ्रष्ट ठानेका थिए । कश्मीरमा पाकिस्तानी भूमिबाट आएका लडाकुहरूले भारतीय सुरक्षाकर्मीमाथि घातक आक्रमण गरेपछि भारतले प्रत्युत्तरमा पाकिस्तानतिर हवाई हमला गरेको थियो । सन् २०१९ मा निर्वाचनको प्रचारप्रसारमा भारतको सुरक्षाको विषयवस्तुले ठूलो स्थान पायो ।

भाजपा मोदीको जीवन्त छविका कारण यसपालि पनि आफू सफल हुने आश गरेको छ । तर, विश्लेषकहरू उनको छविका कारण समस्या उत्पन्न पनि हुन सक्ने सम्भावना पनि देख्छन् ।

‘चुनावमा भाजपाबाटको उठ्छ भन्ने कुरा महत्वपूर्ण छैन किनभने केन्द्रबिन्दुमा प्रधानमन्त्रीको छवि छ । त्यसकै आधारमा राजनीतिक घटनाक्रम र निर्वाचनको चक्र चल्दैछ,’ सार्वजनिक नीति विश्लेषक यामिनी ऐ्ययर भन्छिन् ।

यद्यपि केही विश्लेषकहरूले अतिकेन्द्रीकृत निर्णय प्रक्रियाका कारण स्थानीय नेताहरूलाई लाभ नहुने र दीर्घकालमा त्यो भाजपाका लागि घातक हुन सक्ने चेतावनी दिएका छन् ।

भारतको अर्थतन्त्र सात प्रतिशतको वृद्धिदर नाघ्दै अझ ठूलो भएको छ । अहिले भारत विश्वमा पाँचौँ ठूलो अर्थतन्त्र भएको देश हो । यो वृद्धिको फल भारतका करोडौँ विपन्न मानिससम्म पुगेको छैन ।

यद्यपि यसका कारण उत्पन्न आक्रोश मोदीलाई पराजित गर्न पर्याप्त हुन्छ कि हुँदैन भन्न गाह्रो छ । सन् २०१६ मा अवैध रकम नियन्त्रण गर्न भन्दै मोदी सरकारले नोटबन्दी गरेको थियो । धेरै अर्थशास्त्रीहरूले उक्त कदमबाट डरलाग्दो परिणाम उत्पन्न भएको औँल्याएका छन् । कोभिड महामारीका बेला पनि सरकारमाथि प्रश्न उठेको थियो ।

यद्यपि प्रतिपक्षीहरूले यी विषयमा मोदी र उनको सरकारमाथि प्रहार गर्न सकेनन् । यी विवादहरूले मोदीका प्रशंसकहरूलाई खासै प्रभाव परेको पनि देखिँदैन ।
मोदी सन् २०१४ मा सत्तामा पुग्दा निवर्तमान सरकारलाई ‘अप्रभावकारी’ मानेका थिए ।

‘त्यसको ठिक उल्टो मोदी आफूलाई सातै दिन चौबिसै घण्टा काम गर्न सक्ने र आफ्नो परिवार नभए पनि जनतासँग उभिने अनि देशका लागि खट्ने रूपमा प्रस्तुत हुन्छन्,’ विश्लेषक शास्त्री भन्छन् ।