आतंकवादमा दोहोरो मापदण्ड स्वीकार्य छैन : मोदी

आतंकवादमा दोहोरो मापदण्ड स्वीकार्य छैन : मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी गतिविधिको कडा आलोचना गरेका छन् ।

चीनको थियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सोमबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आतंकवादी क्रियाकलापको कडा आलोचना गरेका हुन् ।

भारत लामो समयदेखि आतंकवादबाट पीडित रहेको बताउँदै प्रधानमन्त्री मोदीले आफूले पहलगाममा यसको कुरूप अनुहार देखेको जिकिर गरे ।

मोदीले त्यो आक्रमण भारतको आत्मामाथिको प्रहार मात्र नभइ हरेक देश, मानवतामा विश्वास गर्ने हरेक व्यक्तिलाई खुला चुनौती रहेको बताए ।

उनले यस्तो अवस्थामा केही देशहरूले आतंकवादलाई गरेको खुला समर्थन आफूहरूलाई कसरी स्वीकार्य हुनसक्छ ? भन्दै प्रश्न गरे । ‘आतंकवाद सम्पूर्ण मानवताको लागि सबैभन्दा ठूलो चुनौती हो’, उनले भने ।

उनले भने, ‘भारतले विगत चार दशकदेखि निर्दयी आतंकवादको मार खेपिरहेको छ । धेरै आमाहरूले आफ्ना छोराछोरी गुमाए । धेरै बच्चाहरू टुहुरा भए । हालै हामीले पहलगाममा आतंकवादको एकदमै घृणित रूप देख्यौं । यो दुःखको घडीमा हामीसँगै उभिएका मित्र राष्ट्रहरूप्रति म कृतज्ञता व्यक्त गर्दछु ।’

उनले आतंकवादमाथि कुनै पनि प्रकारको दोहोरो मापदण्ड सहन नसकिने चेतावनी समेत दिए । ‘हामीले स्पष्ट र एक स्वरमा भन्नुपर्छ कि आतंकवादमा कुनै पनि दोहोरो मापदण्ड स्वीकार्य हुनेछैन । हामीले संयुक्तरूपमा हरेक रूप र रंगको आतंकवादको विरोध गर्नुपर्छ’, मोदीले भने ।

उनले एससीओको बारेमा भारतको सोच तीन स्तम्भहरूमा सुरक्षा, कनेक्टिभिटी र अवसरमा आधारित रहेको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले एससीओ देशहरूलाई आतंकवादको सबै रंग र रूपहरूविरुद्ध एक स्वरमा विरोध गर्न अपील समेत गरे ।

उनले भारतले आतंकवादको वित्तपोषण र यसको सञ्जालविरुद्ध सधैं विश्वको ध्यान खिच्दै आएको बताए ।