नेपाललाई आवश्यक सहयोगका लागि तयार छौं : नरेन्द्र मोदी

नेपाललाई आवश्यक सहयोगका लागि तयार छौं : नरेन्द्र मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन् ।

उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सधैं सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री मोदीले आईतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक सन्देश दिँदै भनेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति अत्यन्तै दु:खद छ । यस कठिन घडीमा हामी नेपाल सरकार र नेपाली जनताको साथमा छौं । मित्र राष्ट्र र पहिलो प्रत्युत्तरदाताको हैसियतले भारत आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध छ ।’

नेपालका विभिन्न भागहरूमा जारी भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउँदै मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । उद्धार र राहतकार्य जारी रहेको अवस्थामा भारतले पुन: एक पटक छिमेकीको हैसियतले सहयोगको प्रस्ताव अघि सारेको छ ।

यसअघि पनि भारतले नेपालमा विभिन्न विपद्को बेला उद्धार, राहत तथा पुनर्निर्माणमा सक्रिय भूमिका खेल्दै आएको छ ।