काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले संसदबाट विश्वासको मत पाएकै दिन मोदीले आइतबार राती टिवटरमा बधाई दिएका हुन ।
मोदीले प्रधानमन्त्री निर्वाचित भएकोमा देउवालाई बधाई दिंदै सवै क्षेत्रमा साझेदारी बढाउनको लागी आफु नयां सरकारसंग काम गर्न इच्छुक रहेको बताएका छन् । उनले जनता जनताबीचको गहिरो सम्बन्धलाई अझ मजबूत पार्न आफु तयार रहेको समेत सन्देश पठाएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको पाँच दिन बितिसक्दा पनि छिमेकी मुलुकका समकक्षीबाट बधाई नआएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका थिए । तर, मोदीले संसदमा विश्वासको मत पाएपछि मात्रै बधाई सन्देश पठाएका हुन् ।
उनी २०५२ सालमा पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि क्रमशः २०५८, २०६१ र २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको थियो ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रतिक्रिया