चीन-भारतको सम्बन्धलाई सीले दिए ‘हात्ती र ड्रागन’को संज्ञा

चीन-भारतको सम्बन्धलाई सीले दिए ‘हात्ती र ड्रागन’को संज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले चीनसँगको सम्बन्धलाई आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आइतबार चीनको थियानजिनमा भेटवार्ता गर्दै गत वर्ष भएको सैनिक फिर्ता प्रक्रियापछि सिमानामा शान्ति र स्थिरता कायम भएको उल्लेख गरे ।

द्विपक्षीय सम्बन्ध पुनःस्थापनाका लागि भइरहेको प्रयासबीच मोदीले राष्ट्रपति सी जिनपिङसँग छुट्टै भेटवार्ता गरेका हुन् ।

‘हाम्रो सम्बन्ध सकारात्मक दिशामा अगाडि बढेको छ । सिमानामा शान्ति र स्थिरता कायम भएको छ । कैलाश–मानसरोवर यात्रा पुनः सुरु भएको छ । दुवै देशबीच प्रत्यक्ष हवाई उडान पनि सुरु हुँदैछ’, मोदीले भने ।

दुई देशको सीमाका विषमा प्रधानमन्त्री मोदीले भने, ‘सिमाना व्यवस्थापनबारे हाम्रो विशेष प्रतिनिधिहरूबीच सहमति भएको छ । भारत र चीनसँग सिमाना सम्बन्धी विषयलाई सम्बोधन गर्नका लागि एक ढाँचा पनि रहेको छ ।’

तर उनले नेपालसँग विवाद रहेको लिपुलेकको विषयमा केही बोलेनन् ।

प्रतिनिधिमण्डलस्तरीय वार्ताको प्रारम्भिक सम्बोधनमा चिनियाँ राष्ट्रपति जिनपिङले विश्व रूपान्तरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै चीन र भारत दुई सभ्यतागत मुलुक भएको बताए ।

‘हामी विश्वकै दुई सबैभन्दा बढी जनसंख्या भएका राष्ट्र हौं र ग्लोबल साउथको हिस्सा पनि हौं । मित्र बन्नु, राम्रो छिमेकी बन्नु, र हात्ती तथा ड्रागन एकसाथ आउनु अत्यन्त जरुरी छ’, चिनियाँ राष्ट्रपति सीले भने ।

यस वर्ष चीनले अध्यक्षता गरिरहेको १० सदस्यीय सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी चीन पुगेका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्व नेताहरू उत्तरी चीनको थियानजिनमा भदौ १५ देखि १६ गतेसम्म हुने शिखर सम्मेलनमा लागि उपस्थित भएका छन् ।

यसअघि दुवै नेताहरू अन्तिमपटक सन् २०२४ मा रसियाको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा भेटेका थिए । चीनमा भएको यस पटकको मोदीको भ्रमण सात वर्षयताकै पहिलो हो ।

मोदी–सीको भेटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिकासँग चीनको बढ्दो तनावको सन्दर्भमा पनि महत्वपूर्ण मानिएको छ ।

यसबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि शिखर सम्मेलनका लागि थियानजिन पुगेका छन् । प्रधानमन्त्री मोदीले शिखर सम्मेलनपछि सोमबार पुटिनसँग भेटवार्ता गर्ने तय भएको छ ।