काठमाण्डु – नेपाली कांग्रेसका नेता नरेशबहादुर सिंहले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बिहिवार काठमाण्डुको धुम्बराहीमा पत्रकार सम्मेलन गर्दै पूर्व राज्यमन्त्री समेत रहेका नेता सिंहले केन्द्रीय सदस्यमा भूगोल तर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता सिंहले विपी कोइरालाको आदर्श, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको निष्ठाको मार्गमा काँग्रेसलाई हिँडाउन आफूले केन्द्रीय सदस्यको उम्मेदवारी दिएको बताए ।
सिंह बझाङ जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनले २०३५ सालमा बझाङको बुङ्गगल स्थित सरस्वती माविमा ९ पढ्नेक्रममा नेविसंघको उपाध्यक्षबाट राजनीति सुरू गरेका थिए ।
उनी नेविसंघको केन्द्रीय उपाध्यक्ष र राज्यमन्त्री समेत भइसकेका छन् । २०४६ सालको जनआन्दोलनमा सिंह कैलालीको धनगढीमा जेल समेत परेका थिए । पार्टीको केन्द्रीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका उनलाई बौद्धिक व्यक्तित्वको रूपमा समेत चिन्ने गरिएको छ ।




प्रतिक्रिया