काठमाडौं– माओवादी केन्द्रभित्र सरकारको नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा विवाद देखिएपछि एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मध्यस्थकर्ताको भुमिका निर्वाह गरेको स्रोतको दावी छ । श्रेष्ठको पछिल्लो समय नेपालसंग निकटता छ । नेपालले प्रचण्डलाई श्रेष्ठको नेतृत्वमा मन्त्री पठाउन आग्रह गरेको स्रोतले बतायो ।
श्रेष्ठ २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए । उनले आफु यो कार्यकालभरी संसदमा नजाने बताएपनि पछि उनि राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बन्दै निर्वाचित भएका थिए । श्रेष्ठ माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेर सुरुमै जाने योजनामा भएपनि प्रचण्डले देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मालाई अर्थ र पम्फा भुषाललाई उर्जामन्त्रीको रुपमा सरकारमा पठाएका थिए । त्यो बेलादेखी नै श्रेष्ठ माओवादी अध्यक्ष प्रचण्डसंग असन्तुष्ट छन् ।
मंगलबार बिहान प्रचण्ड र श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। त्यो भेटमा दुवै नेताबीचको विवाद मिलाउन नेपालले प्रयास गरेको स्रोतले काठमाण्डुपाटीलाई बतायो । श्रेष्ठलाई रोक्न माओवादीभित्रै ठुलो समुह सक्रिय छ । गोरखाका नेताहरु हितराज पाण्डे र हरि अधिकारीले समेत यसपटक श्रेष्ठलाई सरकारमा नपठाउन अध्यक्ष दाहालमाथी दबाव बढाएका छन् ।
शान्ति प्रक्रिया सुरु भएपछि माओवादीमा प्रवेश गरेका श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र लिएर सरकारमा जाने प्रयासमा छन् । तर,अध्यक्ष दाहालले भने यसपटक उनलाई नपठाउनेमा छन् । दाहाल श्रेष्ठको समुहबाट शशि श्रेष्ठलाई मन्त्री बनाउनेमा छन भने श्रेष्ठ आफु नभएको खण्डमा अन्जना विशंखेलाई मन्त्री बनाउने तयारीमा छन् । श्रेष्ठ यसअघि उपप्रधानमन्त्रीसहित परराष्ट्र र गृहमन्त्री बनिसकेका छन् । उनि माओवादीमा छोटो समयमै धेरै लाभ लिने नेतामा पर्दछन् । माओवादी नेता श्रेष्ठसंग यसबारेमा प्रतिक्रिया लिन खोज्दा उनले टेलिफोन उठाएनन् ।
माओवादीभित्र सरकारको नेतृत्वको लागी श्रेष्ठसहित हरिबोल गजुरेल र कृष्णबहादुर महराले समेत दावी गरेका छन् । अर्थमन्त्री समेत रहेका शर्माले समेत आफुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेको माओवादी स्रोतले बतायो ।
माओवादीका अहिले संसदमा ४९ जना सांसद छन् । तिमध्ये धेरै नेता मन्त्री बन्ने दौडमा लागेका छन् । माओवादी अध्यक्ष दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममै संसदमा भएका सबै सदस्य मन्त्री बन्न दबाव दिइरहेको खुलासा गरेका छन् ।




प्रतिक्रिया