नासा सेक्यूरिटीजले सुरु गर्‍यो मार्जिन ट्रेडिङ सेवा, १० लाखदेखि २ करोडसम्मका योजना सार्वजनिक

नासा सेक्यूरिटीजले सुरु गर्‍यो मार्जिन ट्रेडिङ सेवा, १० लाखदेखि २ करोडसम्मका योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नासा सेक्यूरिटीजले २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा दिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ लागू गरेपछि नासा सेक्यूरिटिजले शेयर ब्रोकरबाटै कर्जा लिएर शेयर खरिद गर्न सक्ने सुविधा दिन सुरु गरेको हो ।

नासाले सोमबारबाट मार्जिन ट्रेडिङ कारोबार सुरु गर्दै २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा दिने घोषणा गरेको हो ।

अब लगानीकर्ताहरूले नासाबाट ऋण लिएर शेयर खरिद गर्न सक्ने र उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहक–मैत्री बनाइएको पनि कम्पनीले बताएको छ ।

नासाले मार्जिन कारोवार सुविधा सम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू पनि प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने छ ।

कम्पनीको मार्जिन ट्रेडिङ्ग योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस योजना अनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ। सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जनाएको छ ।

यस अतिरिक्त कम्पनीले १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू पनि उपलब्ध गराएको छ । जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहनेछ ।

नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ्ग सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ्ग खाता नासामै खोल्नुपर्ने छ । ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूची भित्र मात्र कारोबार गर्नुपर्नेछ ।