काठमाण्डु-राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्न गृह मन्त्रालयले पाँच जना उपसचिवको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाएको छ ।
मन्त्रालयमा हालै सरुवा भएर आएकासँगै पदस्थापनको क्रममा रहेका उपसचिवलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि विभिन्न १८ जिल्लामा खटाएको हो ।
उपसचिव ओमप्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन, परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु, दाङ, उमाकान्त अधिकारीलाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र टिकाराम ढकाललाई बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा खटाइएको छ ।
गृहसचिवस्तरीय निर्णयबाट उनीहरूलाई जिल्लामा खटाइएको हो । सम्बन्धित जिल्लामा खटिएका उपसचिवले आफू खटिएको जिल्लाको कार्यालयबाट प्रवाह हुने सेवामा आवश्यक सहजीकरण गर्नुपर्छ ।
सामाजिक सुरक्षा भत्ता लिँदा समेत राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएपछि अहिले जिल्लामा सेवाग्राहीको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको सार्वजनिक सेवा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीका लागि सिफारिस, मुद्दा दर्ता र फछ्यौटलगायतका प्रशासनिक कामहरु सम्पादन गर्ने क्रममा सेवाग्राहीको अत्यधिक भिडभाड हुन पुगेपछि कार्यालयको काम कारबाही व्यवस्थापन गर्न समस्या परिरहेको गुनासो छ ।
यो गुनासोपछि उपसचिवलाई सहजीकरणका लागि जिल्लामा खटाइएको हो ।




प्रतिक्रिया