यस्तो छ राष्ट्रिय सभा निर्वाचनमा दलीय समीकरण

यस्तो छ राष्ट्रिय सभा निर्वाचनमा दलीय समीकरण

एक्लाएक्लै लड्दा कांग्रेसलाई फाइदा, नेकपालाई शून्य


काठमाण्डु – राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनमा पुस २३ गते बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमध्ये १८ सिटमा प्रतिस्पर्धा हुनेछ । एक सिटमा भने राष्ट्रपतिले मनोनित गर्नेछन् ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २÷२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २÷२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

विद्यमान अवस्थामा राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको वर्चश्व छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक व्यवस्था छ । सातवटै प्रदेशमा ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ मतदाता रहेका छन् । उनीहरूको मतभार भने फरक–फरक हुन्छ ।

कुल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ र त्यसलाई पुनः एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल जनसंख्यालाई ५५० ले भाग गर्दा ५३०२६.५० हुन्छ ।

यसलाई पुनः १००० ले भाग गर्दा ५३.२६ आउँछ । यसरी एक प्रदेश सांसदको मतभार ५३ तय भएको हो ।

स्थानीय तहको कुल संख्यालाई दुईले गुणा गरी त्यसले कुल जनसंख्यालाई भाग गरेर आउने परिणामलाई फेरि १००० ले भाग गर्दा आएको भागफल स्थानीय तहको एक प्रतिनिधिको मतभार हो । यसअनुसार स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ हुन आउँछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् । उनीहरू कोही पनि आगामी फागुन २० मा बिदा हुने छैनन् ।

आगामी फागुन २० मा बिदा हुने राष्ट्रिय सभा सदस्यहरूमा एमालेका ८ जना र माओवादी केन्द्रका ७ जना छन् । नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १/१ जना विदा हुँदैछन् ।

मनोनीत सांसद वामदेव गौतम पनि विदा हुँदैछन् । यसो हुँदा निर्वाचन अगाडि राष्ट्रिय सभामा कांग्रेसका १६ जना बाँकी रहन्छन् ।

हाल १७ सिटमा रहेको माओवादी केन्द्रका ७ जना बिदा हुँदा १० जना बाँकी रहन्छन् र चुनाव जितेर आउँदा थपिने हुन् ।

हाल १० सिटमा रहेको एमालेका ८ जना बिदा भएपछि २ जना बाँकी रहन्छन् । जति नयाँ जितेर आउँछन् उनीहरू थपिन्छन् । ८ सदस्य रहेको एकीकृत समाजवादीका १ जना बिदा हुँदा ७ जना बाँकी रहन्छन् ।

निर्वातनको मिति जति नजिकिँदै छ मुख्य तीन दल नेपाली कांग्रेस, एमाले र नेकपा चुनावी तयारीमा पनि लागेका छन् । कांग्रेस–एमाले वा कांग्रेस–नेकपा वा एमाले–नेकपा सम्भावित गठबन्धन बनाउन सक्रिय छन् ।

यसपटकको राष्ट्रिय सभा निर्वाचनमा यदि एक्लाएक्लै प्रतिस्पर्धा भयो भने कांग्रेस अत्याधिक सिटमा विजयी हुने निश्चित छ ।

किनभने मधेश प्रदेशमा कांग्रेस ३ हजार १ सय ४ मतसहित अगाडि छ । त्यसपछि दोस्रोमा २ हजार ४ सय ८ मतसहित एमाले र तेस्रोमा १ हजार ९ सय २३ मतसहित जसपा नेपाल रहेको छ । मधेशमा मतभारको हिसाबमा चौथो दल नेपाली कम्युनिष्ट पार्टी छ । त्यसकारण मधेशको मत निर्णायक भएकाले एक्लाएक्लै प्रतिस्पर्धा भएको खण्डमा मधेशबाट कांग्रेसले ४ वटै सिटमा जित हासिल गर्ने निश्चित छ ।

त्यस्तै, बागमतीमा कांग्रेसको मतभार ४ हजार १३ रहेको छ । दोस्रोमा नेपाली कम्युनिष्ट पार्टीको मतभार २ हजार ७ सय ३८ छ । तेस्रोमा नेकपा (एमाले) छ । बागमतीमा एमालेको मतभार २ हजार ५ सय ७१ रहेको छ । एक्लाएक्लै प्रतिस्र्धा हुँदा बागमतीमा पनि कांग्रेसका लागि २ सिट सुनिश्चित छ ।

त्यस्तै, गण्डकीमा कांग्रेसको मतभार २ हजार ७ सय ४ रहेको छ । यहाँ दोस्रोमा एमाले २ हजार ४ सय ५८ मत र तेस्रोमा नेपाली कम्युनिष्ट पार्टी १ हजार १३ मतभार रहेको छ । कुनै दलबीच गठबन्धन नहुँदा यहाँ पनि कांग्रेसले २ सिट जित्ने निश्चित छ ।

लुम्बिनीमा कांग्रेसको मतभार ३ हजार १ सय ७९ रहेको छ । यहाँ एमाले दोस्रो स्थानमा २ हजार ८ सय १० मतसहित र नेपाली कम्युनिष्ट पार्टी १ हजार ३ सय ९६ मतभारसहित तेस्रो स्थानमा रहेको छ । यहाँ पनि दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा भयो भने कांग्रेसले ३ सिट जित्ने निश्चित छ ।

यसैगरी कर्णालीमा कांग्रेसका मतभार १ हजार ८ सय ६३ रहेको छ । दोस्रोमा यहाँ नेपाली कम्युनिष्ट पार्टी रहेको छ । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टीको मतभार १ हजार ८ सय ४४ रहेको छ । यहाँ कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच झिनो मतान्तर रहेको छ । तेस्रोमा भने एमाले रहेको छ । एमालेको मतभार १ हजार १ सय ९५ रहेको छ । एक्लाएक्लै निर्वाचन लड्दा पनि यहाँ कांग्रेस केही मतले अगाडि नै रहेको छ । कांग्रेसका सबै सदस्यहरू मतदानमा सहभागी भएको खण्डमा यहाँबाट पनि २ सिट जित्ने सम्भावना देखिएको छ ।

यस्तै सुदूरपश्चिममा पनि कांग्रेसको २ हजार ५ सय ५८ मतसहित पहिलो स्थानमा रहेको छ । सुदूरमा एमाले १ हजार ५ सय ३३ मतसहित दोस्रो स्थानमा र नेपाली कम्युनिस्ट पार्टीको १ हजार ३ सय ६५ मतभारसहित तेस्रो स्थानमा रहेको छ । यहाँ पनि एक्लाएक्लै निर्वाचन लड्दा कांग्रेसले २ सिट जित्ने निश्चित छ ।

यस्तै, कोशी प्रदेशमा भने एमाले बलियो रहेको छ । एक्लाएक्लै प्रतिस्पर्धा हुँदा कोशीमा भने एमालेले जित हासिल गर्ने देखिन्छ ।
कोशीमा एमालेको ४ हजार २ सय १० मतभार रहेको छ । कोशीमा दोस्रोमा ३ हजार ७ सय २२ मतभारसहित कांग्रेस र तेस्रोमा १ हजार ६ सय २३ मतसहित नेपाली कम्युनिष्ट पार्टी रहेको छ । एक्लाएक्लै निर्वाचन लड्दा यो प्रदेशमा एमालेले ३ सिट जित्ने निश्चित छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुख्य राजनीतिक दल कांग्रेस, एमाले र नेकपाबिच राष्ट्रिय सभामा सहकार्य गरेर जाने प्रस्ताव आएको बताए । ‘तर एमाले वा नेकपा कोसँग मिल्दा सहज हुन्छ, आन्तरिक छलफलका आधारमा एउटा निष्कर्षमा पुगिने छ’, उनले भने ।