काठमाण्डु – राष्ट्रिय सभामा नेकपासँग सिट संख्यामा सहमति जुट्न नसकेपछि चार दलबीच नयाँ समीकरण बनेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा नेकपासँग तालमेलको प्रयास असफल बनेपछि एमाले, कांग्रेस र दुई मधेश केन्द्र्रित दलबीच मात्रै नयाँ समिकरण बनेको हो ।
मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७, नेकपालाई ३ र लोसपा÷जसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भएको थियो ।
कांग्रेस र एमालेसँग चुनावी तालमेल गर्नका लागि नेकपाले मतभार अनुसार कम्तीमा चार सिट दाबी गरेको थियो । तर एमालेका अध्यक्ष केपी ओली निवासमा मंगलबार राति अबेरसम्म भएको छलफलमा भागबण्डा नमिलेपछि नेकपा बाहिरेको छ ।
अब नेकपा राष्ट्रिय सभा निर्वाचन एक्लै लड्ने छ ।
बुधबार बिहान कांग्रेसले ९, एमालेले ८ र जसपा/लोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको हो । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ ।
कांग्रेसका नेता रमेश लेखकले नेकपा समेतको तालमेल प्रयास असफल भएको बताए । ‘तालमेलमा नेकपा सहभागी नभएपछि राष्ट्रियसभाका १८ सिट मध्ये कांग्रेसले ९, एमाले ८ र लोसपा–जसपाले १ सिट पाउनेगरी सहमति भएको छ’, लेखकले भने ।
निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । त्यसका लागि बुधबार मनोनयन दर्ता भइरहेको छ ।




प्रतिक्रिया