माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो ।

निर्वाचन आयोगसँगको परामर्शपछि राष्ट्रिय सभाका झन्डै १ तिहाइ सदस्यका लागि माघ १२ गतेका लागि निर्वाचन मिति तोकिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ ।

नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका पाँच (राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारी सहित) र नेपाली कांग्रेसका तीन सदस्यको कार्यकाल समाप्त हुँदैछ ।

पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर रहेका छन् ।

विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।