राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, कहाँ-कहाँ छन् मतदानस्थल ?

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, कहाँ-कहाँ छन् मतदानस्थल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको जनाएको छ ।

आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने मतदानका लागि सम्पूर्ण तयारी सकिएको जनाएको हो ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुँदैछ । उनीहरुको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।सो प्रावधानअनुरुप आयोगले निर्वाचन गर्न लागेको हो

निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको र मतदान केन्द्रहरुमा बुथ निर्माणको काम आज केहि समयमा सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुका एक/एक वटा मतदान स्थल छन् ।

प्रदेश १ को मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ भने प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ ।

लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ ।