राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठक शनिबारका लागि तय भएको थियो । तर, सत्ता गठबन्धनबीच शनिबार सिट बाँडफाँटमा सहमति नभएपछि बैठक आज बस्न लागेको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते (सोमबार) उम्मेदवारी दर्ताको कार्यतालिका छ । सम्भवतः आजको बैठकले उम्मेदवार चयन गर्नेछ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुने छ । एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछ । सिट बाँडफाँटलाई अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको बैठक आइतबार बिहान पनि बस्दै छ ।