काठमाण्डु – भारतमा सञ्चालित नेशनल डिफेन्स कोर्ष २०२१ को भ्रमण दलले जंगी अड्डाकाे भ्रमण गरेका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको भ्रमण दलले जंगी अड्डाकाे भ्रमण गरेका हुन् ।
असोज ३१ गतेदेखि नेपाल भ्रमणमा रहेका भ्रमणदलले मँगलबार प्रधानसेनापति प्रभुराम शर्मासँग समेत भेटवार्ता गरेका छन् । भेटवार्ता पश्चात नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको शुरुवातमा प्रधानसेनापति शर्माले आफ्नो मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाकाबीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षिय सुरक्षा चासोका विषयहरुको सम्बोधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यस्तै आजै एक कार्यक्रममा भ्रमणदलमा सहभागी फ्याकल्टी सदस्य तथा तालिमरत शिक्षार्थीहरुका श्रीमतीहरुलाई सैनिक श्रीमती संघको कार्यालय, भद्रकालीमा स्वागत तथा शिष्टाचार भेटवार्ताको कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त भ्रमणदलले आजै रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । अस्ट्रेलिया, भुटान, माल्दिभ्स र श्रीलंकाका शिक्षार्थीहरु समेत समावेश भएको उक्त भ्रमणदल कार्तिक ६ गते भारत फिर्ता हुनेछ ।
विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको छ ।
छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।





प्रतिक्रिया