काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले देशव्यापी रुपमा बढेको वायु प्रदुषणले नागरिकमा पारेको असरबारे चासो व्यक्त गरेको छ ।
आयोगका प्रवक्त डा. टीकाराम पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि काठमाण्डु उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदुषणाका कारण नागरिकको स्वास्थ्यमा गम्भर असर पारेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको उल्लेख गरेको छ । वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४, विपद् जोखिम न्यूनिकरण व्यवस्थापन ऐनलगायत राष्ट्रिय कानूनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विज्ञहरुकाअनुसार वायु प्रदुषणबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न, हालै देखिएको अध्याधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्कने फोहोर जलाउने कार्यमा नियन्त्रण गर्न तथा सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी हालै देखिएको वायु प्रदुषणको अवस्थामा तत्काल सुधार ल्याउनुपर्ने देखिन्छ ।’
आयोगले वायु प्रदुषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनिकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणलाई तत्काल दीर्घकालीन उपायहरुको अवलम्बन गर्न सरकारलाई आग्रह गरेको छ ।





प्रतिक्रिया