काठमाण्डु- उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले भारत, चीन र ब्राजिलमाथि १ सय प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएको छ। नेटोका महासचिव मार्क रुटले चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री र ब्राजिलका राष्ट्रपतिलाई संकेत गर्दै रुससँग व्यापार महँगो पर्न चेतावनी दिएका हुन् ।
रुटले अमेरिकी सिनेटरहरूसँग भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यी तीनै देशहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति वार्तालाई गम्भीरतासाथ लिन दबाब दिनुपर्छ।’ रुटले तीनै देशहरूमाथि सेकेन्डरी प्रतिबन्ध लगाउने धम्की पनि दिएका छन्। उनले भने, ‘यदि यी देशहरूले रुसबाट तेल तथा ग्याँस किनिरहे भने, तिनीहरूलाई १ सय प्रतिशत सेकेन्डरी प्रतिबन्धको सामना गर्नुपर्नेछ।’
नेटो महासचिवको यो चेतावनी त्यस समयमा आएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रुसी साझेदारहरूमाथि भारी कर लगाउने घोषणा गरेका छन् ।
अहिले अमेरिका युक्रेनलाई पेट्रियट मिसाइलजस्ता आधुनिक हतियार दिने तयारीमा छ । जसले युक्रेनले रुसी आक्रमणबाट आफ्नो रक्षा गर्न सकोस्।
ट्रम्पले सोमबार रुसमाथि युक्रेनविरुद्धको युद्ध रोक्न दबाब दिने प्रयास स्वरूप १ सय प्रतिशत ट्यारिफको धम्की दिएका थिए।
रुसी उप–विदेश मन्त्री सेर्गेई रियाबकोवले अमेरिका र नेटोको धम्कीलाई अस्वीकार गरेका छन्। उनले भने, ‘रुस ट्रम्पसँग वार्ताका लागि तयार छ, तर यस्तो अल्टिमेटम स्वीकार्य छैन।’




प्रतिक्रिया