नवलपरासी – नवलपरासीमा गएराती आएको हावाहुरीले वितण्डा मच्चाएको छ । देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । हुरीसँगै असिनापानी परेको थियो । मानवीय क्षति भने नभएको देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले जानकारी दिए ।
नवलपरासीमा हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्याएको यो पहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका मेयर श्रेष्ठले जानकारी दिए ।
देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।
२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुर्याएको, २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ भने सितावास र मुण्डे क्षेत्र बढी प्रभावित भएको छ ।
सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए । प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।
दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएकाे छ ।




प्रतिक्रिया