नवराज विकलाई मरणोपरान्त पुरस्कार, अन्य विधाको नाम पनि टुंगो लाग्यो (सूचीसहित)

नवराज विकलाई मरणोपरान्त पुरस्कार, अन्य विधाको नाम पनि टुंगो लाग्यो (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रुकुम पश्चिममा हत्या गरिएका जाजरकोटका नवराज विकले मरणोपरान्त पुरस्कार पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको हो ।

मन्त्रालयका का प्रवक्ता रूद्रसिंह तामाङले नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए । यो पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ।

त्यस्तै मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामा समेत पुरस्कृत हुनेको नाम टुङ्गो लगाएको छ । त्यसैगरी २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ ।

त्यस्तै, संस्कृति विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधा तर्फ महाकवी लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय भएको छ । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ ।

यी सबै पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । यसबाहेक संस्कृति, भाषा, ललितकला, सङ्गीत तथा नाट्य गरी चारै विधामा एक एक जनालाई जनही रु एक लाख राशिको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही रु ५० हजार राशिको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको मन्त्रालयले जनाएको छ ।

महाकवी देवकोटा पुरस्कार भाषा, सहित्य विधासहित कविता, निवन्ध, गद्याख्यान/नाटक र वालसहित्य/लोकसाहित्य गरी पाँच विधामा पाँच स्रष्टालाई दिने निर्णय भएको छ । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृति र विज्ञानसहित राजनीतिक र सैद्धान्तिक तथा इतिहास गरी तीन विधामा तीनजनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानवअधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय भएको छ । यी प्रत्येक पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।