नयाँ सरकार गठन : शीतल निवासमा आज फेरि छलफल हुँदै

नयाँ सरकार गठन : शीतल निवासमा आज फेरि छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वर्तमान संक्रमणकालीन अवस्थामा नयाँ सरकार गठनका विषयमा त्रिपक्षीय वार्ता शुक्रबार पनि हुँदैछ ।

शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबार रातिसम्म बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्दैछ ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा राष्ट्रपति र मुख्य राजनीतिक दलहरूबीच सहमति भए पनि अन्तिम टुंगो लागेको छैन ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो। तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठक शुक्रबार बिहान ९ बजे बस्ने गरी टुंगिएको हो ।

बैठकको मुख्य एजेन्डा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषय थियो। तर संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण सहमतिमा हुन सकेको छैन ।

राष्ट्रपति पौडेलले यसअघि बिहीबार संविधानको धारा ६१ (४) अन्तर्गत रहेको बाधा अड्काउ फुकाऊ प्रावधान प्रयोग गर्न सकिने वा नसकिने विषयमा संविधानविद्हरु भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल गरेका थिए।

जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । तर विद्यमान संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने भएकाले राष्ट्रपति पौडेलले वैकल्पिक उपायबारे विज्ञसँग राय मागेका थिए ।